दक्ष अग्नि नियन्त्रक उत्पादन गर्दै नेपालगन्ज उपमहानगर

शुक्रबार, भदौ १५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न  तालिम दिन सुरु गरेको छ ।

घना बस्तीमा आगलागीको जोखिम र क्षती न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र शाखा, नगर प्रहरी, नेपाल प्रहरी र समुदायमा अग्नि नियन्त्रणको काम गर्दै आएकाहरुको दक्षता र कार्यकौशल बढाउन आजदेखि चार दिने तालिम सुरु भएको छ ।

२४ जना सहभागी तालिममा आगलागीमा कसरी उद्दार गर्ने, दमकल कसरी परिचालन गर्ने, आगलागीस्थलमा पानी कसरी पुर्याउने, धुवाँमा जाँदा के गर्ने, घाइतेलाई अस्पतालसम्म कसरी पुर्याउने, खतराजन्य पदार्थको आगलागीमा कस्तो सजगता अपनाउने लगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइने प्रमुख प्रशिक्षक किशोरकुमार भट्टराईले बताए । 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले अग्नि नियन्त्रण तथा उद्दार तालिम उपयोगी हुने विश्वास ब्यक्त गर्दै चासोपूर्वक सिक्न आग्रह गरे । राईले नेपालगन्जमा घना बस्तीका कारण आगलागी चुनौतीका रुपमा रहेको बताए। सिकेका कुराहरु व्यवहारमा उतार्न सक्नुपर्नेमा उनको जोड छ । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले तालिमबाट प्राप्त हुने सीपले आगलागी नियन्त्रणमामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश श्रीवास्तव, आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित थिए । तालिमको उद्देश्यमाथि विपद तथा वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पारेका थिए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) संगको सहकार्यमा तालिम आयोजना गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्