मोना बेल्जियमद्धारा कोष स्थापनाका लागि बनभोज कार्यक्रम

बिहीबार, भदौ १४, २०८०

सनत आचार्य /बेल्जियम। नेपालमा म्याग्दी जिल्ला घर भै बेल्जियममा बसोवास गर्दै आएका प्रवासी नेपालीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले सोमबार बेल्जियमको लुभेनमा बनभोज कार्यक्रमको आयोजना गरेको छ ।

विरामी उपचारार्थ परोपकारी कोष अभिबृद्धि गर्न आयोजना गरिएको उक्त बनभोज कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई सहयोग शुल्क १५ युरो तोकिएको थियो । आयोजकहरुले उक्त रकममा खाना तथा मासुका विभिन्न परिकारहरु दिएका थिए । 

यसरी संकलित रकममा खर्च कटाएर बचत भएको रकम संघले स्थापना गरेको परोपकारी कोषमा जम्मा गरिने र पछि समितिको निर्णय अनुसार आवश्यकता अनुसार उक्त रकम गरिब, विपन्न, असहय र अशक्त बिरामीका लागि सहयोग गर्ने पवित्र सोच अनुसार बनभोज कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष राकेन्द्र घिमिरेले बताए । 

अध्यक्ष घिमिरेले मोना बेल्जियम सामाजिक संस्था भएकोले यो संस्था सामाजिक भावना र विकासका लागि काम गर्ने बताउँदै, आफुहरुले आयोजना गरेका कार्यक्रममा दाताहरुले सहभागिता र सहयोगले झनै उत्साहित बनाउने भावना व्यक्त गरेका थिए । 

कार्यक्रममा बेल्जियम स्थित गैरआवासीय नेपाली संघ लगायत अन्य विभिन्न सामाजिक तथा बैचारिक संघसंस्था लगायत सर्बसाधरणको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई थप रोचक बनाउन महिला, पुरुष तथा बालबालिकाहरुलाई थप मनोरंजन प्रदान गर्न विभिन्न खेलहरु पनि खेलार्ईएको थियो । 

‘म्याग्दीमा विकास र स्थायित्व, सम्पूर्ण म्याग्देलीहरुको दायित्व’ भन्ने मूल नाराका साथ सन् २००७ मा स्थापना गरिएको यस संस्थाले यस अघि युरोप स्तरीय भलिबल खेल लगायत अन्य सामाजिक गतिविधिहरु आयोजना गर्दै आएको छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्