विरामीलाई उत्साहित गर्ने व्यवहार गर्न भेरी अस्पताल प्रशासनलाई स्वास्थ्यमन्त्रीको निर्देशन

बिहीबार, भदौ १४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भेरी अस्पतालको निरीक्षण गरेका छन् ।

कर्णाली प्रदेशको सुर्खेत र जुम्ला जाने क्रममा आज विहान नेपालगन्ज आएका मन्त्री बस्नेतले भेरी अस्पतालको निरीक्षण गरेका हुन् । उनले त्यसक्रममा अस्पतालको अवस्थाबारे जानकारी लिएका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्डेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पतालको हालको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतिबारे जानकारी गराएका थिए । डा. रायमाझीले जनशक्ति अभाव र पूर्वाधार अभावका कारण विरामीलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको भन्दै जनशक्ति र पूर्वाधारका निमित्त मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।

उनले पूर्वाधार अभावका कारण अस्पतालको ओपिडीमा विरामीले घण्टौं समय लगाउनुपर्ने अवस्था रहेको बताए ।

त्यसक्रममा मन्त्री बस्नेतले पूर्वाधार र जनशक्ति अभाव भएपनि व्यवस्थापन गर्न नजान्दा समस्या बढी देखिएको प्रतिक्रिया दिए । ‘जनशक्ति र पूर्वाधार अभाव छ त्यो म मान्छु,' उनले भने–'तर सामान्य भिडभाडलाई पनि व्यवस्थापन गर्न नसक्नु व्यवस्थापकीय कमजोरी हो ।' उनले विरामीलाई उत्साहित गर्ने व्यवहार गर्न नसक्नु र अस्पतालको फोहोर समेत व्यवस्थापन गर्न नसक्नु व्यवस्थापकीय कमजोरी भएको बताए ।

निरीक्षण कार्यक्रममा लुम्विनी प्रदेश सदस्यहरु बादशाह कुर्मी, सञ्जुकुमारी थारु, मिना सिद्दिकी, माया पुन, सुशिला नेपाली, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, काँग्रेस बाँकेका सभापति नारयाण प्रसाद गौडेल लगायतको सहभागिता रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्