नेपालको महिला टी-२० विश्वकप छनौटमा विजयी सुरुवात

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप  छनोटमा विजयी शुरुआत गरेको छ ।  आज नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको हो । नेपालले मलेसियालाई ५ रनको झिनो अन्तरले हरायो । 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । ८५ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । 

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । 

बलिङतर्फ मलेसियाकी ऐना हामिजाले २ तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले १–१ विकेट लिए । 

मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् । 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युएई छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्