पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

बुधबार, भदौ १३, २०८०

काठमाडौं । एसिया कपको पहिलो खेलमा आयोजक पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर पहिलो ब्याटिङ गरिरहेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २७.५ ओभर खेल्दा १२४ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । 

तर कप्तान बाबर आजम र इफ्तिखार अहमदले पाँचौँ विकेटका लागि २३८ रनको साझेदारी गरेपछि उच्च योगफल खडा गरेको हो । 

कप्तान आजमले ५६ रन जोड्दा करण केसीले सहज क्याच छोडेका थिए । सोही कमजोरीका कारण नै पाकिस्तानले उच्च योगफल बनायो । 

आजमले १३१ बलको सामना गर्दै १५१ रन बनाए । उनको यो १९ औँ शतक हो । त्यस्तै अहमदले ७१ बलमा अविजित रहँदै १०९ रन बनाए ।

मोहम्मद रिजवान ४४, फखर जमान १४, इमाम उल हक ५, अघा सल्मानले ५ तथा शदाब खान ४ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले दुई तथा करण र सन्दीप लामिछानेले एक एक विकेट लिए भने कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले एक एक जनालाई रन आउट गरे । 

पाकिस्तान एक दिवसीयको शीर्ष वरीयतामा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ। 

पाकिस्तानले पछिल्ला पाँच खेलमा चारमा जित हासिल गरेको छ भने नेपालले दुईमा जित तथा तीनमा हार बेहोरेको छ । 

मुल्तानमा गत वर्ष पाकिस्तानले वेष्ट इन्डिजलाई स्वागत गरेको थियो । तीन वटै खेल त्यही मैदानमा भएका थिए जुन मैदानमा नेपाल र पाकिस्तान खेल्दैछन् । 

जहाँ पहिलो इनिङ्समा २५० भन्दा बढी रन बनेको थियो । यो पिचलाई ब्याटिङ पिचका रुपमा लिने गरिन्छ । 

कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने भन्दै टिमको मनोबल बढाउने कामसमेत गरेका छन् । 

एसिया कपमा नेपालको समूहमा भारतसमेत रहेको छ । भारत हालको वरीयतामा तेस्रो स्थानमा छ । 

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्