बझाङमा मोबाइल चोर्न गएका युवकले गरे आमा-छोरामाथि चक्कु प्रहार

मंगलबार, भदौ १२, २०८०
Neuro hospital Nepalgunj

बझाङ । बझाङको चैनपुरमा मोबाइल चोरी गर्न आमा र छोरालाई चक्कु हान्ने एक युवक्लाई प्रहरीले पक्राउ गरेको छ। 

गत साता चैनपुरमा आमा छोरालाई चक्कु प्रहार गर्ने आरोपी पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका-१ का २२ वर्षीय स्याने चौधरी पक्राउ परेका हुन् ।

सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले आरोपीलाई सार्वजनिक गरेको हो । चौधरी गएको सोमबार मादक पदार्थ सेवन गरी सुनिता विकको कोठामा गएर विकसहित उनका दुई नाबालक छोरालाई चक्कु प्रहार गरी फरार रहेका थिए । 

सदरमुकाम चैनपुरमा ज्याला मजदुरी गर्दै आएका चौधरी चोरी गर्न कोठाभित्र पसेको र विक परिवारले प्रतिकार गरेपछि भान्छाबाट चक्कुले प्रहार गरी मोबाइल लुटेर भागेका थिए । लुटिएको मोबाइलका आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । आरोपित चौधरीमाथि अहिले जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए ।

“आरोपी केही दिनयता गाडीभाडा नपाएर चैनपुरमै रोकिएको रहेछ । त्यस दिन घटना घटाएर दोस्रो दिन नै कैलाली गएर घरमा बसेको अनुसन्धानबाट देखिएको छ”, नायब उपरीक्षक भण्डारीले भने । उनका अनुसार मदिरा खाएर चोरी गर्ने उद्देश्यले घटना घटाएको देखिन्छ । 

“विकको कोठामा राति उज्यालै रहेछ । बाहिरबाट हेर्दा झ्याल छेउमा मोबाइल देखेपछि कोठाभित्र पसेको र परिवारका सदस्यले थाहा पाएपछि अन्धाधुन्ध भान्छाबाट चक्कु लिएर प्रहार गरेको देखिन्छ ।” उनले भने । आरोपित चौधरी मजदुरी गर्न चैनपुरमा ६ महिना अगाडि आएका थिए ।

पक्राउ परेका चौधरीसँग थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्