कांग्रेस सक्षम भए कसैसँग पनि गठबन्धन गर्नु पर्दैन: नेता कोइराला

शनिबार, भदौ ९, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रिकरण जरुरी रहेको उल्लेख गरे । जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै ध्रृबिकृत हुने अवस्था बनेको भन्दै उनले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्योजनमा जोड दिए । 

गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै केन्द्रिय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निस्क्रिय भएर जाने जिकिर गरे । कांग्रेस आफैंले खुट्टा कमाएका कारण अन्य दलहरुसंग गठबन्धन गर्नुपरिरहेको औल्याउँदै उनले कांग्रेस सक्षम भए कसैसंग पनि गठबन्धन गर्नु नपर्ने बताए । "कांग्रेस आफ्नो खुट्टामा आफैं उभियो भने कसैले पनि हल्लाउन सक्दैन, कोइरालाले भने-"हामी एक भयौं भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।" 

उनले आफ्नो मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गर्नुभयो । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिँदै तत्काल भ्रष्टाचार निमूल गर्न नसके पनि कम गर्न सकिने बताए । नेतृत्व नै भ्रष्ट भएमा सबै कुरा विग्रिने भन्दै उनले नेतृत्व अझै इमान्दार बन्नुपर्नेमा जोड दिए । कोइरालाले पार्टीका कार्यक्रमहरुमा युवा र महिलाको उल्लेखनीय उपस्थिति हुनुपर्नेमा समेत जोड दिए । 

केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानका बारेमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डोर्याइरहेको भन्दै उनले निर्वाचन प्रणालीका बारेमा समेत सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गरे । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलेको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु सञ्जयकुमार गौतम र उर्मिला थपलियाले समेत सम्बोधन गरेका थिए । सभापति गौडेलले केन्द्रमा पार्टीले माओवादीसंग मिलेर सरकार बनाउने तर जिल्ला तहमा माओवादीले एमालेसंग मिलेर कांग्रेससंग दुरी बढाउने नीतिले पार्टीको भलो नहुने भन्दै नेताहरुको ध्यानाकर्षण समेत गराए । पार्टीका नेता कार्यकर्ता स्वयम् परिचालन हुनुपर्नेमा जोड दिँदै उनले निम्तो खोजेर बसे पार्टी नबन्ने चेतावनी समेत दिए । 

कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले आफ्ना सुझाब, सल्लाह, प्रश्न नेताहरुसमक्ष राखेका थिए। उपसभापति कृष्णबहादुर काकीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्