बाणिज्य संघ महासचिव मतगणना विवादः चरणबद्ध आन्दोलनमा साझा प्रजातान्त्रिक समूह

शनिबार, भदौ ९, २०८०

नेपालगन्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बाँकेले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले भदौ २ गते सम्पन्न निर्वाचनमा महासचिव पदको पुनः मतगणना गर्न दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । 

साझा प्रजातान्त्रिक उद्योगी व्यवसाय समूहका संयोजक संजयकुमार थापाले निर्वाचन आयुक्त टिकाजंग सिंहले एकपक्षीय ढंगले महासचिव पदको नतिजा सार्वजनिक गर्नु खेदजनक र आपत्तिजनक रहेको बताए । थापाले पुन:गणना गर्ने आफ्नै सार्वजनिक प्रतिबद्धताबाट पछि हटेर आयुक्त सिंहले विधि-विधान र निर्वाचन प्रक्रियाको हुर्मत लिन खोजेको भन्दै रोष प्रकट गरे । उनले पुनः मतगणना नहुँदासम्म सशक्त ढंगले अघि बढाइने बताए । 

साझा प्रजातान्त्रिक समूहबाट महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले मतगणनामा चित्त नबुझेको भन्दै मतगणना नसकिँदै निर्वाचन कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए । निवेदनलाई वेवास्ता गर्दै सम्पूर्ण मतपत्र गणना नगरी समावेशी समूहबाट महासचिव पदका उम्मेदवार भिम रानाभाटलाई ६ मतको विजयी भएको घोषणा गरिएको थियो ।

त्यस पश्चात साझा प्रजातान्त्रिक समूहले दबाब बढाउँदै निर्वाचन कार्यलयमा तालबन्दी गरेपछि शर्माको निवेदनलाई आधार बनाउँदै निर्वाचन आयुक्त सिंहले पुन: मतगणना हुने सार्वजनिक बक्तब्य निकाले । तर फेरि भोलिपल्ट उनले आफू अस्पताल भर्ना भएको ब्यहोरासहितको बक्तब्य निकाल्दै तीन दिन मतगणना स्थगित गरेको जानकारी गराए । 

संयोजक थापाले तीन दिन पश्चात फेरि आफ्नै प्रतिबद्धताबाट पछि हट्दै आयुक्त सिंहले पुन: मतगणना नगर्ने निर्णय गर्नु खेदजनक रहेको बताए । थापाले अधिकतम लचकता देखाउँदा देखाउँदै निरंकुशरुपमा गरिएको निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।

पुनः मतगणनाले कसैको अहित नगर्ने भन्दै उनले पुनः मतगणनाले मतदाताको सम्मान नै हुने बताए । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उद्घोष गरेको साझा प्रजातान्त्रिक समूहले नेपालगन्ज उद्योग बाणिज्य संघमा समेत तालाबन्दी गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्