महिला टि-२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

शनिबार, भदौ ९, २०८०

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपालले महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले हङकङलाई जितेको हो । नेपालको यो पहिलो उपाधि हो । 

फाइनल खेलमा वर्षा बाधक भएपछि डकवर्थ लेविस पद्दतिअनुसार नेपाललाई विजेता घोषणा गरिएको हो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १०२ रनको सामान्य लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले १०१ रन बनायो । 

यिङ चानले २९ रन बनाइन् । नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १–१ विकेट लिइन् ।

जवाफमा नेपालले वर्षाले खेल रोकिनुपूर्व ५.३ ओभरमा १ विकेट बनाउँदै ३७ रन बनाएको थियो । त्यसपछि नेपाल १३ रनले विजयी भयो । इन्दू बर्माले १९ तथा सीता रानामगरले १३ रन बनाइन् । काजल श्रेष्ठले खाता खोल्न सकिनन् । 

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । 

यस्तै हङकङ नेपालसँग पराजित हुँदा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सिरिजमा सहभागी भएका थिए।  यस्तै नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि पाकिस्तानमा छ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्