कांग्रेसको सहयोग रहेसम्म वर्तमान सरकारलाई कुनै संकट पर्दैन: कोइराला

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

जनकपुर। वर्तमान सरकारलाई कांग्रेसको सहयोग रहेसम्म यथावत चल्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  बताएका छन् । 

आज जनकपुरधाम उपमहानगरपालिकाको नगरस्तरीय विस्तारित बैठकमा सहभागी कोइरालाले पार्टीको धनुषा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न काण्डहरुका कारण वर्तमान सरकारको आयु लामो छैन भन्छन् नि ? भन्ने प्रश्नमा कांग्रेसको सहयोग रहेसम्म वर्तमान सरकारलाई कुनै संकट नहुने बताएका छन् ।

कोइराला विराटनगरबाट सडकमार्ग हुँदै आउने क्रममा बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गर्दै जनकपुरधाम आइपुगेका हुन् । 

पत्रकार सम्मेलनमा नेता कोइरालाले भने चिनियाँ र भारतीय कनेक्शनसमेत रहेको सुन काण्डमा अन्तर्राष्ट्रिय प्रभावलाई निष्तेज गर्न सके मात्र वास्तविक अपराधी पक्राउ पर्ने नभए सबै कुरा नाटक सावित हुने बताए ।

सुनकाण्डमा भारतीय र चिनियाँ कनेक्शनसमेत स्पष्ट रहेकाले कुनै पनि छानबिन आयोगले त्यो कनेक्शनलाई निष्तेज गर्न सकेमात्र सही उपलब्धि हासिल हुने नेता कोइरालाले जानकारी गराए ।

किलोको किलो सुनको कुरा नेपालका लागि मात्र ठूलो बुझिने भए पनि भारतमा टनका टन सुनको खपत रहेको र त्यसको परिपूर्तिका लागि नेपालको भूभाग प्रयोग भइरहेको कुरा भुल्न नहुने नेता कोइरालाले बताए ।

नेता कोइरालाले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको र त्यसमा चीन, भारतसहित अनेक शक्तिशाली राष्ट्रहरुको संलग्नता हुन सक्ने भएकाले त्यसको छानबिन गर्ने हैसियत हुन्छ कि हुँदैन भन्ने मुख्य विषय हुने बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्