नेता राजाराम कार्कीको निधनमा नेपाली कांग्रेसले दुई दिन आधा झण्डा झुकाउने

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता  डा. राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै आज  र भोलि आधा झण्डा झुकाउने भएको छ।

कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्व सांसद कार्कीको निधनमा पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला पार्टी  कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको जनाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

बैठकले स्व नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने पनि निर्णय गरेको छ ।

श्रद्धाञ्जली अर्पण गर्न आज बिहान पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा उनको शव राखिएको थियो । 

२०१४ वैशाख २९ गते जन्मिएका स्व कार्कीले कांग्रेसको सङ्गठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ । उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बैठकले स्व कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकमा नेता स्व.कार्कीको आत्माको शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो । कांग्रेसले यस दुःखको घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनमा धैर्य धारण गर्नसक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै समवेदना प्रकट गरेको छ ।उनको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्