अविरल वर्षाले हवाई उडान अवरुद्द

बुधबार, भदौ ६, २०८०

काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए  पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले उल्लेख गरे । विभिन्न गन्तव्यमा उडान रद्द भएको एयरलाइन्स कम्पनीले जनाएका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्जको सबै उडान रद्द गरिएको छ ।

काठमाडौँ–पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि  पुनः उडान सञ्चालन गरिएको उनको भनाइ थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रासस।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्