नेपाल एसिया कप खेल्न पाकिस्तान प्रस्थान

बुधबार, भदौ ६, २०८०

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ।

नेपाल पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न आत्मविश्वास बोकेर त्यसतर्फ गएको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली गए राति पाकिस्तान गएको हो । 

त्यसअघि मंगलवार काठमाडौँमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।  आगामी अगस्ट ३० मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू पनि गर्दैछ । सोही एसिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ । 

पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारतवीचको खेल भने श्रीलङ्का हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताए । भारत र पाकिस्तानविरुद्ध खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूबिरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको उनले बताए ।

रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम, प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि, सन्दीप लामिछानेको सहभागिता बारे भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रहिलो पटक एसिया कपमा सहभागी हुँदै भारत र पाकिस्तानसँग खेल्न लागेको हो।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्