कोशीमा मुख्यमन्त्री थापाले विश्वासको मत लिदैं, कांग्रेस सांसद मन्सुरीले चलाए प्रदेश सभा बैठक

सोमबार, भदौ ४, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । विश्वासको मतका लागि मुख्यमन्त्री थापाले प्रस्ताव पेश गरेसँँगै यसबारेमा छलफल सुरु भएको छ। 

प्रदेश सभाको बैठक कांग्रेसका इस्राइल मन्सुरीले सञ्चालन गरेका छन्  । उपसभामुख सिर्जना दनुवार एकाएक काठमाडौं गएपछि बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीले पाएका हुन् ।

कोशी प्रदेश सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छिन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका थिए । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी थिइन् । 

प्रदेश सभाको आजको बैठकमा नेकपा एमालेकी तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने जानकारी गराइसकेका छन् । 

९३ जना प्रदेशसभा सांसद रहेको कोशी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि का‌ग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, का‌ग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको स्रोतले जनाएको छ । 

उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । का‌ग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।

सत्ता गठबन्धनले बैठक सन्चालन गरिरहेका मन्सुरीले  पनि विश्वाशको मत दिन मिल्ने बताएको छ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्