उपसभामुख दनुवारले संसदीय परम्परालाई तोडेको मुख्यमन्त्री थापाको आरोप

सोमबार, भदौ ४, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले संसदीय परम्परालाई तोडेको आरोप मुख्यमन्त्री उद्धव थापाले लगाएका छन् । 

कोशी प्रदेश सभा उपसभामुख दनुवार गोप्य रुपले काठमाडौं गएपछि  आज बस्ने भनिएको प्रदेश सभाको बैठक अनिश्चित बनेको हो। बिहान बसेको कार्य परामर्श समितिको बैठकसमेत बिना निष्कर्ष टुङ्गिएको थियो । 

उपसभामुखले आज गरेको काम गलत भएकोसमेत उनले बताएका छन् । विराटनगरको एक होटेलमा गठबन्धनका नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री थापाले संचारकर्मीहरुसँग कुराकाकी गर्दै उपसभामुखले संसदीय व्यवस्थालाई धरापमा पार्ने काम गरेको आरोप लगाए । 

‘राज्य व्यवस्था र संसदीय व्यवस्थाबीच द्वन्द्व बढाउने काम उपसभामुखज्यूले गर्नु भएको छ’, थापाले भने  तर हामी द्वन्द्व बढाउँदैनौँ समाधान गर्ने उपाय खोज्छौँ ।’

विश्वासको मत लिने आधारहरू पनि धेरै रहेको उनले बताएका छन् । उनले अब कानूनी प्रक्रियामा जाने संकेतसमेत गरेका छन् । 

‘अब हामी सबै ढोका खुल्ला गरेर जान्छौँ । अदालत जानु पर्छ कि प्रदेश सभामा बसेर छलफल गर्नु पर्छ कि बाहिर बसेर छलफल गर्नुपर्छ । यसका लागि हामी तयारी गर्दै छौ । उपसभामुखलाई  विश्वासको मतमा बस्ने मनसाय थिएन भने समय नदिएको भए हुने थियो’ उनले भने । 

विश्वासको मत लिनका लागि सबैसँग छलफल गरेर नै अगाडि बढेकोसमेत उनले बताएका छन् । मुख्यमन्त्री थापाले बजेटका विषयमा पनि सहमति भएको बताएका छन् । 

अघिल्लो सरकारले ल्याएको बजेटको  ८५ प्रतिशत नचलाउने र अहिलेको सरकारले  १५ प्रशित मात्रै  फेरबदल गर्ने सहमति भएको स्मरण गराउँदै उनले सहमति एउटा गरेर काम भने अर्कै गरेको देखिएको बताए । 

उनले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट पूरै परिवर्तन गर्नेसमेत संकेत गरेका छन् । अघिल्लो सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको भए पनि उपसभामुख बिदामा बसेसँगै अब प्रदेश सभा बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको छ । 

यसअघि नै एमालेले आफ्ना ज्येष्ठ ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको थियो । उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेका हुन् ।  

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो । प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो । 

हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्