टंक धामी नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित

आइतबार, भदौ ३, २०८०

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्दी ललितकुमार रौनियारलाई ८९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार धामीले २४५६ मत पाउँदा रौनियारले १५६६ मत प्राप्त गरे । ४९३१ जना मतदाता रहेको नेपालगन्ज उद्योग बाणिज्य संघमा ४१३२ मत खसेको थियो । नयाँ नेतृत्व चुन्न शनिबार मतदान भएको थियो । अन्य पदाधिकारीको मतगणना भने जारी छ । 

खुला सदस्यतर्फको मतगणना पनि सकिएको छ । खुला सदस्यतर्फ १० जना निर्वाचित भएका छन् । समावेशी प्यानलबाट ७ जना र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ३ जना सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार समावेशी प्यानलबाट विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, टोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय र बुद्धिबहादुर विके तथा साझा प्रजातान्त्रिक समूहबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् । 

बस्तुगतमा किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भइसकेका छन् । समान मत पाएका पौडेल र श्रेष्ठले आधा-आधा कार्यकाल बाँड्नेछन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने पौडेल र श्रेष्ठले साझा प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए । यस्तै एसोसिएटमा समावेशीका कमल कार्की र साझा प्रजातान्त्रिकका प्रदिपकुमार गुप्ता निर्वाचित भइसकेका छन् । 

नेपालगन्जका उद्योगी व्यवसायीहरु समावेशी र साझा प्रजातान्त्रिक गरी दुई वटा प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्