लुम्बिनीमा सरकार विस्तारको तयारीमा मुख्यमन्त्री चौधरी

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर  चौधरीले सरकार विस्तारका लागि छलफलमा जुटेका छन् । आर्थिक वर्ष ८०-८१ को बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने सम्बन्धमा ध्यान केन्द्रित गरेका हुन् ।

कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट मन्त्री थप हुन बाँकी छ ।

प्रदेशमा हाल तीन वटा मन्त्रालय खाली छन् । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेका कारण हाल ती मन्त्रालय मुख्यमन्त्री चौधरीले नै सम्हाल्दै आएका छन् ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयका अनुसार साना दलको भागबण्डा अनुसार प्रतिनिधित्व भइसकेका कारण अब कांग्रेस र माओवादी केन्द्रबाट ती मन्त्रालयमा मन्त्री नियुक्त हुने छन्।

लुम्बिनी प्रदेशमा अहिले नेपाली कांग्रेसले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालय, माओवादीले अर्थ मन्त्रालय, लोसपाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार मन्त्रालय, जसपाले कृषि तथा भूमि सुधार मन्त्रालय र जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्