सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग थप पहल गर्ने बताएका छन् । उनले भने, “म सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।”
राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा सुन बरामद गरेको थियो । साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले लगातार सङ्घीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ ।
उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन । सरकारले भने सरकारी निकाय र अङ्गले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ ।
आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । “माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन”, सभामुख घिमिरेले भने, “आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।”
सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरे ।
उनले भने, “सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर परिणाम निस्किन सकेन । शीर्ष नेताहरू घन्टौँ बस्दा पनि सहमति भएन ।”