लोकप्रिय दाहाल, नेपालगञ्ज उद्योग बाणिज्य संघका सशक्त उम्मेदवार

बुधबार, साउन २४, २०८०

नेपालगञ्ज । शिवप्रसाद दाहाल, नेपालगञ्जको व्यवसायिक क्षेत्रमा नामै काफी छ । कर्मठ व्यवसायीकोे छबि बनाएका दाहाल, व्यवसायिक हकहित र सुरक्षासंगै सुखदुःख र पीरमर्कामा सधैं संगसंगै रहने जुझारु पात्र हुन् ।

भदौ २ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा सदस्य पदका उम्मेदवार दाहाल, व्यवसायीमाझ जति घुलमिल र सहयोगी छन्, त्यो भन्दा बढी लगनशील र गतिशील छन् । सबै माझ लोकप्रिय शिव, कोरोनाकालका हिरो पनि हुन् । कोरोना कालममा व्यापारीहरुको दुःखमा हातमा हात, काँधमा काँध मिलाएर अहोरात्र सेवाभावका साथ खटिएका उनी कसैप्रति सहानुभूति होइन, समानुभूति राख्ने मिजासिला व्यक्ति हुन् । 

२०५३ सालमा व्यापारकै सिलसिलामा नेपालगञ्ज झरेका दाहाल काभ्रे जिल्लामा जन्मेका हुन् । २०३३ साल बैशाख १५ गते काभ्रेमा जन्मिएका उनी २०५३ यता लगातर नेपालगञ्ज भूमिमा व्यापार व्यवसाय र समाजसेवी पहिचान बनाएर सतिसालझैं आफ्नो कर्ममा अडिग भएर उभिएका छन् । सुरुमा नेपालगञ्ज झर्दा इलेक्ट्रोनिक्स पसल गरेका उनले यो कर्मलाई २०५९ सम्म निरन्तरता दिए । त्यसपछि रेडिमेड कपडाको व्यवसायमा लागेको शिवप्रसाद दाहाल हालसम्म पनि यसैमा तल्लीन छन् । न्यूरोडमा 'सोरभ कलेक्सन' नामक रेडिमेड कपडाको पसल सञ्चालन गरेका उनी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगञ्ज कार्यसमितिका  अध्यक्ष पनि हुन् ।

श्रीमतीसंगै पसल सम्हाल्ने कर्म गरिरहेका दाहालले तीन जनालाई रोजगारी समेत दिएका छन् । 'थकान' भन्ने शब्द आफ्नो डिक्सनरीमा नराखेका शिव विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि अबिछिन्न छन् । 

खुद्रा व्यवसायी संघको संस्थापक सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका शिवसंग नेतृत्व क्षमता पनि बेजोडको छ । सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने दाहाल कहिल्यै पनि विवादमा नआएको नाम हो । जुमा स्पोर्ट्स क्लबका वर्तमान उपाध्यक्ष दाहाल, लायन्स क्लब अफ नेपालगञ्ज सिनर्जीका संस्थापक अध्यक्ष समेत हुन् । भानुभक्त संरक्षण समितिका कोषाध्यक्ष शिव भानुभक्त चोक निर्माताका मध्येका एक महत्वपूर्ण पात्र समेत हुन् ।

उनी सामुदायिक प्रहरी केन्द्र र नबर्देश्वर महादेव मन्दिरका आजीवन सदस्य पनि हुन् । व्यवसायिक हकहित र सुरक्षाका लागि सदस्य पदमा उम्मेदवारी दिएको बताउने दाहाल लामो समयदेखि संघसंस्थामा आबद्ध रहेर व्यवसायीका समस्यासंग जुध्दै निरन्तर व्यवसायिक कर्ममा लागेकाले आफूले जीत हासिल गर्ने विश्वास रहेको बताउँछन् । सबैले देखाएको माया, विश्वास र सद्भाव आफ्नो जीतको आधार भएको शिवप्रसाद दाहालको तर्क छ । ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यानलबाट सदस्य पदका उम्मेदवार दाहालको क्रम संख्या १ रहेको छ ।

साझा प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा रौनियारसहित उद्योग उपाध्यक्षमा सफिक बेहाना, बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्