आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्जका सबै स्कुल भोलिदेखि बन्द

मंगलबार, साउन २३, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय भोलिदेखि बन्द हुने भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले भोलिदेखि तीन दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज एक सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिने जनाइएको छ । केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धि प्रकोपका कारण बालिबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि साउन २४ गतेदेखि २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जनाएको छ ।

बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रति दिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्यावाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । 

आँखा सम्बन्धि रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्