काठमाडौं उपत्यकामा भारी वर्षा, सचेत रहन आग्रह

मंगलबार, साउन २३, २०८०

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग महाशाखाले निरन्तर भइरहेको वर्षाबाट सचेत रहन सबैलाई आग्रह गरेको छ। महाशाखाका अनुसार  काठमाडौँ उपत्यकामा हिजो दिउँसोदेखि परिरहेको वर्षा अझै रोकिएको छैन । वर्षा निरन्तर भएसँगै सचेत रहन मौसम जल तथा मौसम विज्ञान विभागले जनाएको हो । 

नेपाल टेलिकमबाट मोबाइलमा बिहानैदेखि निरन्तर सन्देश प्रवाह गरेर सचेत रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले “विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ । उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्नेछ” भनेको छ । 

हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि लगातार हल्कादेखि मध्यम वर्षा  भइरहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोसमेत गरिएको छ । देशका बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

निरन्तरको वर्षाले खोला किनारमा खतराको संकेत दिन थालिकसकेकोसमेत जनाइएको छ । 

हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी  तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।  

पछिल्लो तीनदेखि ६ घण्टा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने देखिएको महाशाखाको भनाइ छ । 

यस्तो छ मोबाइल सन्देश –‘साउन २३ बिहान ६ बजे काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको, विष्णुमती, धोविखोला, मनोहरा, बागमती लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाऔँ ।’

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्