एमालेको संसद बैठक अवरोधले मिटरब्याज लगायत अन्य विधेयक अलपत्र

शनिबार, असार २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  नेकपा एमालेले विगत एक सातादेखि प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरिरहेको छ । संसद अवरोधकै कारण संसदमा दर्ता भएको मिटरब्याज सम्बन्धी अध्यादेश निष्कृय भएको थियो । 

मिटरब्याज सम्बन्धी अध्यादेश निष्कृय भएपछि मिटरब्याज पीडितहरुले एमालेविरुद्ध नाराबाजीसमेत गरे। यतिमात्र होइन  एमालेले निरन्तर संसद अवरोध गर्दा प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका आधा दर्जन विधेयक अलपत्र परेका छन् । संसद कहिले खुल्छ भन्ने अन्योल कायमै छ । 

संसदमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ। प्रधानमन्त्रीले राजीनामा दिने अवस्था पनि छैन । तर संसद अवरोध भैराख्दा प्रतिनिधि सभाबाट माथिल्लो  सदन राष्ट्रिय सभामा गएका राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि विपक्षीको अवरोधका कारण छलफल हुन पाएको छैन । 

हाल समितिमा रहेका सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि प्रभावित हुने अवस्था छ । सरकारले यसै अधिवेशनमा ल्याउनुपर्ने संघीय कर्मचारी सम्बन्धी विधेयकको त सुरसारसम्म छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न दिल्ली धाएको भन्ने व्यवसायी प्रितम सिंह सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले दुवै सदनका बैठक अवरुद्ध गरेका हुन् । 

तर सत्ताधारी दलका सांसदहरुले संसदमा चलिरहेको छलफललाई अवरुद्ध गर्न नहुने र संवादका माध्यमबाट अवरोध खुलाउनुपर्ने धारणा राखिरहेका छन् । सभामुख र राष्ट्रिय सभा अध्यक्षले पनि यही भनाइलाई जोड दिइरहेका छन् । 

तर एमालेले संसदको कारबाही जारी राख्न प्रधानमन्त्रीको राजीनामालाई प्रमुख शर्त बनाएको छ। प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली जानु भएको भन्ने अभिव्यक्ति दिएका थिए । 

‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानुपनि भयो’, उनले भनेका थिए । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलहरुले संसद अवरोध गरेका छन् । त्यसको लगत्तै सत्ता गठबन्धन दलको बैठक राखेर प्रतिरक्षा गर्ने निर्णय गराएका थिए । 

बिहीबार प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धन दलको बैठकले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्ने निर्णय गरेको थियो । नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौकासमेत नदिइ प्रधानमन्त्रीको राजीनामा माग गरेर गल्ती गरेको बताउँदै प्रतिरक्षा गर्नुपर्ने बताएका थिए । 

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्रीको राजीनामाको माग उचित नभएको बताए । 

एमालेले प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरणको मौकासमेत नदिइ राजीनामा मागेर फसेको उनको भनाइ थियो ।  ‘गठबन्धनमा सरकारमा सामेल भएका सबै दलहरू बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौँ । राजीनामा गर्नुपर्दैन । एक त एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नुपथ्र्यो,’ पाण्डेले भने । 

प्रधानमन्त्रीले राजीनामा नदिने र प्रमुख प्रतिपक्षले संसद चल्न नदिने अवस्था आएमा संसदमा विचाराधीन रहेका विधेयकहरु के हुन्छन् भन्ने प्रश्नसमेत उठेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। तर त्यसअघि दलहरुबीच कुनै पहल भने हुन सकेको छैन। 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्