सीमापारीबाट हुने अवैध तस्करी रोक्नु हाम्रो लक्ष्य हो: सफिक बेहना

सोमबार, साउन २२, २०८०

नेपालगन्ज । यही भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूह र समावेशी प्यानलबीच कडा प्रतिस्पर्धा छ ।

दुबै समूह निर्वाचनको प्रचारप्रसारका लागि दौडधुपमा व्यस्त छन् । साझा प्रजातान्त्रिक प्यानलले अझ द्रुत गतिमा चौतर्फी प्रचारप्रसार गरिरहेको देखिन्छ ।

साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरु आफूलाई मात्र नभई पूरै प्यानललाई नै विजयी गराउन रातदिन मेहनत गरिरहेको बताउँछन् ।

यसै क्रममा ललित रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानललाई विजयी बनाउन उद्योग उपाध्यक्षका उम्मेदवार मो. सफिक बेहनाले सबैलाई अनुरोध गरेका छन् ।

नेपालगन्जका चर्चित व्यापारी, राजनीतिज्ञ एवं समाजसेवी बेहनाले बेथितिलाई थितीमा बदल्न प्रजातान्त्रिक प्यानलको जित हुनैपर्ने बताएका छन् ।

साथै उम्मेदवार बेहनाले जटिल अवस्थामा पुगेको व्यापार व्यवसायलाई पुरानो साखमा फर्काउनुका साथै उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न प्रजातान्त्रिक प्यानललाई विजयी गराउन अनुरोध गरेका छन् ।

खुला सीमाका कारण हुने अवैध तस्करीले जटिल बनेको व्यापार व्यवसायलाई पुन: फस्टाउने वातावरण बनाउने र तस्करी नियन्त्रणमा सघाउ पुर्याउने प्रजातान्त्रिक प्यानलको अर्को उद्देश्य  रहेको समेत बेहनाले  बताए ।

साथै नेपालगन्जको व्यवसायिक समस्या समाधान र  बाणिज्य संघलाई बलियो बनाउने साझा प्रजातान्त्रिक प्यानलको प्रतिवद्धता रहेको भन्दै उनले प्रजातान्त्रिक प्यानलका सबै उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह समेत गरेका छन् ।

यस्तै बेहनाले सम्पूर्ण ब्यापारी व्यवसायीहरुलाई ब्यापार संघको चुनावको सन्दर्भमा कुनै भोज-भतेरमा सम्मिलित नहुन आग्रह गर्दै  हुनै पर्ने भए पनि प्लेट खर्च बुझाएर मात्र खान आग्रह गरेका छन् । नत्र त्यस्तो भोज भोलिका दिनमा साह्रै महँगो पर्न सक्ने समेत उनले बताएका छन् ।

 

नेपाली कांग्रेसले पनि रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानलका सबै उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

साझा प्रजातान्त्रिक प्यानलबाट उद्योग उपाध्यक्षमा बेहानासँगै बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्