देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, असार २३, २०८०

काठमाडौं । आज राति देशभरका प्रदेशका धेरै जसो स्थाहरुमा वर्षाको सम्भावना रहेको छ। 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ ।

यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिमबाट बच्न सबैमा आग्रह गरिएको छ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्