काठमाडौंमा आन्दोलनरत शिक्षकलाई धम्क्याएको भन्दै शिक्षक महासंघको गर्‍यो आपत्ति

आइतबार, वैशाख १४, २०८२

काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरुलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ। काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरुलाई दिइएको धम्कीका बारेमा एक विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आपत्ति जनाउँदै यस्ता खालका कार्य बन्द गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ-"देशको राजधानी काठमाडौँ आन्दोलनमा आएका शिक्षक, प्रधानाध्यापक लगायतलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन् । संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’

काठमाडौंमा नेपाल शिक्षक महासंघको आन्दोलन २५ दिन नाघेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघले जनाएको  छ । 

अध्यक्ष सुवेदीले भनेका छन् -" यस निर्णायक घडीमा देशभरका सबै शिक्षक कर्मचारी साथीहरूलाई काठमाडौँ आउनुहुन आग्रह छ।"

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्