एपीएफले जित्यो लुम्बिनी कप महिला फुटबलको उपाधि

शुक्रबार, वैशाख १२, २०८२

नेपालगन्ज विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो । 

आज नेपालगन्ज रंगशालामा भएको निकै कडा प्रतिष्पर्धात्मक फाइनल खेलमा एपीएफले पुलिसलाई अन्तिम समयमा स्तब्ध बनाएको हो । एपीएफका तर्फबाट अन्तिम मिनेटमा गिता रानाले एक मात्र निर्णायक गोल गरिन् । उनी नै प्लेयर अफ द म्याच भइन् । एपीएफले रौतहट फुटबल संघको टोली र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । 

उपाधिसंगै एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कर हात पार्दै ट्रफी उचालेको छ । उपविजेता बन्दै पुलिसले २ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु. २५ हजार प्राप्त गरिन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गिता राना, मिडफिल्डतर्फ एपीएफकै सरु लिम्बू, स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षकतर्फ पनि एपीएफकै भगवती थापा घोषित भए । उनीहरुले जनही नगद रु. १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता थियो । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता थियो । 

बाँके जिल्ला फुटबल संघसंगको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता बैशाख ५ गतेदेखि सुरु भएको थियोे ।

विजेतालाई पुरस्कार र ट्रफी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्