सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए ।
उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमन्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे ।
उनले भने, “मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन ? पर्छ नि । तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अस्ति भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्न मैले । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमन्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र ?इति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।”