नेपालगन्जमा माटो परीक्षण शिविर संचालन

शुक्रबार, वैशाख १२, २०८२

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले माटो परीक्षण शिविर संचालन गरेको छ । आर्थिक विकास समिति अन्तर्गत कृषि विकास शाखाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर २० मा दुई दिने माटो परीक्षण शिविर संचालन गरिएको हो ।

कृषि शाखा प्रमुख अम्बिका रिजालको संयोजकत्व तथा माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेको बिज्ञ प्राविधिक टोलीको सहभागितामा शिविर संचालन गरिएको कृषि शाखाका प्राविधिक भुवन प्रसाद पन्तले जानकारी दिए । स्वीकृत कार्यक्रम बमोजिम यसै महिनाभित्र वडा नम्बर १३ मा पनि माटो शिविर संचालन गरिने पन्तले बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाले माटो परीक्षण शिविर चलाएर माटोको अवस्थाबारे किसानलाई अवगत गराउँदै आएको छ । गत वर्ष पनि यस्तै शिविर संचालन गरिएको थियोे । माटोको वास्तविक अवस्था नबुझेर जथाभावी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेका बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण शिविर सञ्चालन गरिरहेको कृषि शाखाले जनाएको छ ।

परीक्षण पूर्ब माटोको नमुना संकलन कसरी गर्ने, कस्तो माटो परीक्षण गराउने, के-के उल्लेख गर्ने लगायतका विषयमा कृषकलाई सिकाइन्छ । पछिल्लो समय कृषकहरुले माटोको अवस्था नबुझेर रासायनिक मलको जथाभावी प्रयोग गर्दा माटोको गुणस्तर खस्किरहेको कृषि विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्