१२ कक्षाको परीक्षा सर्‍यो

मंगलबार, वैशाख ९, २०८२

काठमाडौँ । वैशाख ११ गते बिहीबारदेखि तय भएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको छ घण्टामा नै आफ्नो निर्णयबाट पछि हटेको हो ।

योसँगै अब वैशाख २१ गतेदेखिमात्र परीक्षा गर्ने बोर्डले निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परीक्षा स्थगित भएको जानकारी दिँदै १० दिन पछि सारिएको हो ।

विगत २१ दिनदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरूले परीक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घण्टामा नै परीक्षा बोर्ड आफ्नो निर्णयबाट पछि हटेको हो ।

पटक पटक परीक्षा हुने र नहुनेबीचको निर्णयले गर्दा विद्यार्थीहरुलाई अन्योल भएको छ । बोर्ड भने २१ गतेसम्म शिक्षकका माग सम्बोधन हुने र शिक्षकहरु कक्षाकोठामा जानेमा विश्वस्त छ । 

तर प्रधानमन्त्री केपी शर्मा ओली भने अझै राजी देखिँदैनन् । यही अल्झनबीच शिक्षा मन्त्री विद्या भण्डारीको राजीनामा नै आएको छ ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्