सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बारा। बारास्थित सशस्त्र प्रहरी बल नं.१२ गणले पछिल्लो १५ दिनको अवधिमा १ करोड बढीको अवैध चोरी तस्करीको सामाग्री (सामन) बरामद गरेको छ। अवैध ओसारपसारविरुद्द सशस्त्र प्रहरी बाराको कारबाहीमा जिल्लाका विभिन्न स्थानबाट उक्त रकम बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बाराका एसपी खुम केसीले जानकारी दिएका छन् ।
यसअघिको डेढ महिनाको अवधिमा पनि सशस्त्र प्रहरीले बाराबाट साढे २ करोडको अवैध सामाग्री बरामद गरेको थियो।
हालका सशस्त्र प्रहरी बल नं. १२ गणका गणपति एसपी खुम केसीको कमान्डको टोलीले पछिल्लो १५ दिनमै अवैध तस्करीमा प्रयोग गरिएको एउटा जीप, टम्पोसहित ठुलो परिमाणमा लत्ताकपडा,कस्मेटिक सामाग्री, हार्डवेयर्स, बरामद गरेको हो। सशस्त्र प्रहरीले बारामा लागुऔषधविरुद्दको कारबाहीमा ठुलो परिमाणमा गाँजा समेत बरामद गरेको एसपी केसीले बताए।
त्यसैगरी सशस्त्र प्रहरीले बाराका सीमा क्षेत्र आसपास बसोबास गर्ने युवाहरुका लागि रोजगारलाई लक्षित गर्दै हाउस पेन्टिङ र कपाल काट्ने तालिम दिदै आगामी दिनमा पनि विभिन्न किसिमका तालीम दिने लक्ष्य राखेको सशस्त्र प्रहरी बल नं.१२ गणले जनाएको छ।
बढ्दै गएको गर्मीमा हुन सक्ने आगलागीको सम्भावित जोखिमका सम्वन्धमा सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुलाई जनचेतनाका लागि सशस्त्र प्रहरी बाराले आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरेको छ। सशस्त्र प्रहरीले बाराको सुवर्णपुर गाउँपालिका- २ संतगंज स्थित नेपाल भारत सीमा क्षेत्रमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यता र गाउँपालिकाका उपाध्यक्षको उपस्थितिमा आगलागी नियन्त्रण सम्वन्धमा सिमुलेशन सम्पन्न गरिएको जानकारी दिएको छ।
सशस्त्र प्रहरीको आयोजना गरिएको उक्त कृत्रिम घट्ना अभ्यासमा सशस्त्र प्रहरी बलसहित नेपाल प्रहरी तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का स्थानीय यूनिटहरुवाट ४१ जना सुरक्षाकर्मीबाट सिमुलेशन सम्पन्न गरिएको थियो। उक्त कृत्रिम घट्ना अभ्यासका क्रममा नेपाल-भारतका सीमावर्ती २ सय ५० बढी स्थानीयले अवलोकन गरेको सशस्त्र प्रहरीका एसपी केसीके जानकारी दिएका छन् । उक्त संयुक्त अभ्यासले दुवै देशका सुरक्षाकर्मीबीच समन्वय र सहकार्य बढ्ने उदेश्यका साथ भारतीय सुरक्षा बल एसएसबीलाई पनि सहभागी गराइएको एसपे केसीले बताए।
गत फागुन १ गतेदेखि कमान्ड सम्हालेयता जिल्लाको सीमा सुरक्षा,सीमा अपराध नियन्त्रण ,अवैध ओसारपसारविरुद्ध लगायतका कार्यमा खट्दै आएको एसपी केसीको कमान्ड रहेको सशस्त्र प्रहरी बल नं.१२ गण र मातहतका कार्यालयले चैत २० गतेसम्मको अवधिमा साढे २ करोड र पछिल्लो १५ दिनमा १ करोड बढीको गरेर २ महिना केही दिनको अवधिमा साढे ३ करोड बढी रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गर्न सफल भएको हो।
एसपी केसी बारा आएयता पछिल्लो महिनामा लागुऔषध बरामद गर्ने क्रममा सशस्त्र प्रहरीले ३ क्विन्टल गाँजासहितको एउटा ट्रक र ८ किलो अफिमसमेत बरामद गरेको थियो।