सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । सरकारले थालेको दुई दिन देशभरका बालबालिकालाई ७५३ वटै स्थानीय पालिकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम जारी छ । हिजोदेखि शुरु भएको कार्यक्रम आज सकिँदैछ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइएको हो ।
यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यसैगरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने सरकारको लक्ष्य रहेको छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
हिजो खुवाउन छुटेका बालबालिकाका लागि आज खुवाउन पनि अभिभावकलाई आग्रह गरिएको छ ।
सरकारले भिटामिन ‘ए’ को कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा ८ जिल्लाबाट शुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।
प्रत्येक वर्ष कार्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।