'तोकेको समयभित्र दर्ता नगरे फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ'

शुक्रबार, वैशाख ५, २०८२

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरूले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको बताए ।

नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ । उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्द्धन हुने गरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताए । सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले भनेका छौँ सामाजिक सञ्जालको प्रयोग र सञ्चालनको नियमन गर्ने विधेयक ल्याएका छौँ । त्यो विधेयक राष्ट्रिय सभामा मैले प्रस्तुत गरिसकेको छु तर त्यो बीचमा गएर रोकिराखेको छ । किन रोकिएको छ भन्ने सबैलाई थाहा छ । आज सोसल मिडिया प्लेटफर्म जस्लो चलाइरहेको छ नि जसले सञ्चालन गर्छ । त्यो सञ्चालन गर्नेहरूले यो मुलुकको संविधान मान्नु पर्ने कि नपर्ने ? जस्तो मेटा भनौँ, गुगल, टिकटक ।।।। यिनीहरूले नेपालमा काम गर्ने भएपछि नेपालको कानून मान्ने कि नमान्ने ? नेपालको संविधान मान्नु पर्ने कि नपर्ने ? यहाँ दर्ता हुनुपर्ने कि नपर्ने ? उनीहरूले जे खालको कन्टेन्टहरू पस्कन्छ त्यसबाट हाम्रो नेशनल युनिटी, राष्ट्रिय स्वाधीनताको बारेमा बोलिदियो भने र त्यसले समाजमा ठुलो प्रभाव सिर्जना गर्‍यो भने त्यसलाई हामीले के गर्ने ? सबैभन्दा ठूलो कुरा देश हो । देशको स्वाधीनता, भौगोलिक अखण्डता र एकता हो । स्वाधीनताको विरुद्ध जे जे सम्प्रेषण हुन्छ सोसल मिडियाबाट, त्यो सञ्चालकलाई नियमन गर्नुपर्छ भनेको हो । त्यो भनेको प्रेस फ्रिडमलाई खोस्ने भनेको होइन । जसले जे लेखे पनि भाछ, फेक आइडी बनाएर मनपरी लेखिरहेको छ । सामाजिक सद्भाव भड्काइरहेको हुन्छ । हाम्रो जातीय सद्भाव भड्काइरहेको हुन्छ । धार्मिक सहिष्णुतालाई भड्काइरहेको छ । पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आऊ भनेर । अहिले एक महिनाको सूचनाको दुई तीन दिन बाँकी छ कोही आउँदैन । मेटा जसले फेसबुक चलाउँछ मेसेन्जर चलाउँछ, ह्वाट्सएप चलाउँछ, इन्स्टाग्राम चलाउँछ दर्ता गर्न किन आउँदैन? सरकारलाई नै टेर्दैन उसले नेपाललाई नै टेर्दैन उसले । तेरो टोटल जिडिपी भन्दा त हाम्रो जिडिपी बढी, तेरो वार्षिक बजेट भन्दा हाम्रो धेरै गुणा बढी भन्ने उसको घमन्ड छ, अहङ्कार छ । त्यो घमन्ड गरेर बस्यो भने प्रतिबन्ध लाग्छ मैले भन्दिएको छु । होइन हामी चल्छौँ भन्ने हो भने आउनु पर्‍यो ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्