सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
उनकाअनुसार बैठकले पार्टी सङ्गठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ । उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा सङ्गठन मजबुत बनाउँदै आन्दोलन केन्द्रित गर्ने पनि निर्णय भएको बताए । उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरूको रिहाइको लागि राजनीतिक एवं कानूनी लडाइँ सशक्त रूपमा अगाडी लैजाने निर्णय भएको बताए ।
उनले भने, ‘आज बसेको हाम्रो पार्टी कार्य सम्पादन समितिको बैठकले पार्टी सङ्गठन र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । त्यस क्रममा यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय पनि गरेका छौं । त्यसै गरी वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनहरूको कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ । उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरू पुग्ने र सङ्गठनलाई अझै मजबुत बनाउने र आन्दोलन केन्द्रित बनाउने निर्णय गरेको छ । पक्राउ परेका हाम्रा पार्टीका नेताहरूलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने र रिहाइको लागि कानूनी र राजनीतिक लडाइँलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय भएको छ । र राष्ट्रिय प्रजातन्त्र पार्टीका आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी बनाउने समेत निर्णय भएको छ ।’
उनले पार्टीका आन्दोलनसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताए । आन्दोलनका थप कार्यक्रम पछि तय गरिने उनको भनाइ छ ।