तीनकुने घटना आपराधिक र विध्वंसात्मक: गृहमन्त्री

शुक्रबार, चैत २९, २०८१

काठमाडौँ ।  गत चैत १५ गते काठमाडौंमा भएको घटना आपराधिक र विध्वंसात्मक कार्य भएको भन्दै अब आइन्दा यस्ता घटना नदोहोरिनका लागि सरकार चनाखो भएर बसेको गृहमन्त्री रमेश लेखकले  बताएका छन् । आज प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले तीनकुने भएको घट्नाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताए । 

गृहमन्त्रीले तीनकुने घटना आपराधिक र विध्वंसकारी घटना भएकोले फौजदारी कानूनी प्रक्रियाबाट नै छानबिन हुने जिकिर गरे । सांसदहरूले घट्नाको सत्य तथ्य छानबिन गर्न छानबिन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घट्नाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्ने बताए । 

सार्वजनिक सम्पत्ति लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उनको भनाइ छ । तीनकुने प्रदर्शनका कमान्ड दुर्गा प्रसाईँ पक्राउ परेको समेत उनले समितिलाई जानकारी दिनुभयो । घटनाको अनुसन्धान जारी रहेकोले भूमिका अनुसार कसैलाई पनि नछोडिने गृहमन्त्री लेखकले दोहोर्‍याए । 

उनले भने, ‘जब मुलुकको फौजदारी कानूनी प्रक्रिया प्रारम्भ भइसकेको छ, त्यसका बारेमा छानबिन अगाडि बढिसकेको छ । आयोजक थाहा छ, त्यहाँ भाषण गरेर कसले के बोल्यो त्यो पनि थाहा छ । क–कसले के–के उद्दण्डता गरे थाहा छ । यो त आपराधिक गतिविधि हो नि । यसमा सरकारले राज्यका प्रचलित कानून अनुसार कारबाही अगाडि बढाएको छ । सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले यसमा काम गर्छ । छानबिन निष्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ । कुनै पनि आग्रह र पूर्वाग्रह प्रेरित हुँदैन । एक एक जना मानिसले गरेका कामहरूमा गम्भीरतापूर्वक अनुसन्धान गरेर निष्कर्षमा पुग्छौँ । जो मान्छे दोषी हुन्छ उसका माथि कानूनी कारबाही हुन्छ, जो मान्छे दोषि हुँदैन उसलाई कारबाही हुँदैन । केही मान्छेहरू पक्राउ पर्नु भएको छ । पक्राउ पर्ने क्रम जारी छ । र अनुसन्धान जारी छ । पक्राउ पर्ने क्रम पनि निरन्तर अगाडि जान सक्छ । को को मान्छेको भूमिका देखिन्छ । त्यही ढङ्गले अनुसन्धान हुन्छ, कानूनी कारबाही हुन्छ ।’

उनले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको बताए । घटना घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने उनको गृहमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्