दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतको अनुमति

शुक्रबार, चैत २९, २०८१

काठमाडौँ ।चैत १५ गते राजावादीहरुको आन्दोलनमा हिंसा मच्याउन उक्साएको अरोप लागेका  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । बिहीवार साँझ भारतमा पक्राउ परेर आज नेपाल ल्याई दिउँसो काठमाडौँ जिल्ला अदालतमा समय थपका लागि प्रहरीले लगेकामा अदालतले १२ दिन हिरासतमा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो । 

प्रसाईंलाई कारबाही गर्न यतिबेला प्रहरीले विभिन्न मुद्दा लगाउनेबारे तयारी गरिरहेको छ । गत चैत १५ गते राजावादीहरुको आन्दोलनमा हिंसा मच्याउन उक्साउने उक्त आन्दोलनका नाइके प्रसाईं तीनकुनेमै निषेधित क्षेत्रमा गाडी हुँइकाउँदै कार्यकर्तालाई उक्साएर आफू भागेका थिए । 
उनलाई प्रहरीले १५ गतेदेखि नै खोजी जारी राखेको भए पनि सफल हुन सकेको थिएन । कहिले ललितपुर त कहिले हेटौँडातिर रहेको शंकाबीच प्रहरीले उनलाई खोजी जारी राख्यो । 

अन्ततः उनकी भारतको असामबाट भारतीय प्रहरीको नियन्त्रणमा परेका हुन  । भारतीय प्रहरीले सामको गुवाहाटीबाट नियन्त्रणमा लिएर नेपालको सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाउने तयारी गरेको हो । 

प्रहरी स्रोतका अनुसार उनी भारतमा रहेको शंकाबीच विगत एक सातादेखि भारतको असामस्थित गुवाटीमा तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो । 

‘दुर्गा प्रसाईंको खोजीमा गएका नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेका थिए । भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिन सफल भएसँगै काठमाडौँ ल्याएर काठमाडौँ जिल्ला अदालतमा पेश गरी समय थपेर अनुसन्धान थालिने छ । 

तत्काल उनलाई ज्यान मार्ने अपराधमा मुद्दा चलाउने तयारी रहेको भए पनि विभिन्न मुद्दा उनीमाथि आकर्षित हुन सक्ने देखिएको छ । उनीमाथि ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्ति तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण तथा संगठित अपराधमा अनुसन्धान हुने बताइएको छ । 

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुँदाएका थिए । उनको उक्त दुस्साहससँगै उनका कार्यकर्ता हौसिएका थिए । त्यसपछि प्रसाईं बेपत्ता भए पनि उनका कार्यकर्ताले भने विभिन्न सार्वजनिक तथा निजी भवन तोडफोड गरेका थिए । 

साथै आगजनीसँगै लुटपाटसमेत भएको थियो । सार्वजनिक तथा निजी गरी करिब छ दर्जन सवारी साधनमा क्षति पुर्याइएको थियो । 

उक्त तीनकुनेको हिंसात्मक घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यान गएको थियो भने एक सय २९ जना घाइते भएका थिए । घाइते धेरैजसोलाई निको भएको छ । पाँच जना अझै अस्पतालमा उपचाररत छन् । 

प्रहरीले प्रसाईंलाई सोही दिनदेखि खोजी गरे पनि भगुवा भागेर भारत पुगेका थिए । यद्यपि प्रसाईंले आफू भागेर कतै नजाने, मर्न नडराउने जस्ता उत्तेजक सन्देश दिँदै कार्यकर्ता उचालेका थिए । 

१५ गतेको उक्त घटनामा जिम्मेवार ठहर्याउँदै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र माहमन्त्री डा धवलशमशेर राणालाई भने पक्राउ गरेको छ । उनीहरुको तीन दिन म्याद थपिइसकेको छ । 

अहिलेसम्म प्रहरीले हिंसात्मक घटना, लुटपाट, आगजनी लगायतमा संलग्न भएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । 

प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। अन्यको पनि अनुसन्धान भइरहेको छ । 

यो अवस्थामा भागेर भारत गएका विवादित मेडिकल व्यवसायीसँगै सर्वसाधारणलाई उक्साउँदै आएका प्रसाईंलाई कस्तो कारबाही होला भन्ने चाँसो व्याप्त छ । उनले तीनकुने घटना हुनु अघिल्लो रात निर्मल निवासमा पुगेर पूर्वराजालाईसमेत भेटेर आन्दोलन चर्काउनु पर्छ भन्ने सहमति गराएको दाबी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्