सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर आवासीय बीमा कार्यक्रम सुरु गरेका हुन् ।
नगर प्रमुख विष्टले विपदको शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै आवासीय घर बीमा कार्यक्रमले विपदको जोखिममा रहेका परिवारलाई आर्थिकरुपले सशक्त बनाउन खोजिएको बताए । उनले विपदपछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
“भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ” उनले भने । विपद जोखिम न्यूनीकरण गर्न सुरु भएको आवासीय बीमा कार्यक्रममा दुई वडाका १५१ घरधुरी पहिलो चरणमा समावेश भएका छन् । दुई वडा मध्ये नेपालगञ्ज ३ का १०९ र ७ का ४२ घर आवासीय बीमा कार्यक्रममा समेटिएका छन् । विपद जोखिम सम्बन्धि कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपदपछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बीमा कार्यक्रमलाई अगाडि बढाइएको जानकारी दिए । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा करीब ७५० घर रहेका छन् । आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले रु. १५ लाखसम्मको बीमा गरिदिने र रु.१५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा १५ लाख भन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाई छ ।
१५ लाखको बीमा गर्दा पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग-अलग बीमा हुने जानकारी दिए । आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको वडा नम्बर ३ र ७ मा आवासीय घरको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती तथा घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताए ।
नेपालगञ्जका वडा नम्बर ३ र ७ मा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुपरले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।