सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। आज संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको बताए ।
उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्ने गरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त गणतन्त्रवादी दलहरू लागि परेको समेत उनको आरोप छ । राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैँका लागि समाप्त हुने भन्दै आफूहरूको आन्दोलनका कार्यक्रममा सहभागी हुन उनको अपिल समेत छ ।
उनले भने, ‘चैत १५ गतेमा घटनाबाट हामी कति पनि विचलित हुनुपर्ने जरुरत छैन । हतोत्साहित र निराश हुनुपर्ने जरुरी छै, चैत १५ गतेको घटनाबाट पाठ सिकेर हामीले हाम्रो आन्दोलनलाई नयाँ ढङ्गबाट र नयाँ शिराबाट अब उठाउनुपर्दछ । अहिलेको सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलका नेताहरूले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेका छन् । चैत १५ गतेको घटनासँग कुनै साइनो र सरोकार नै नभएको राजा ज्ञानेन्द्रलाई जुन ढङ्गबाट प्रधानमन्त्रीदेखि अन्य नेताहरूले लाञ्छना लगाउने काम गरे त्यो नेपाली जनतालाई स्वीकार्य छैन । जनताले बुझेका छन् कि लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्ने गरी कमाएको सम्पत्ति देश विदेशमा लुकाएर राखेको, भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त यिनीहरूले यो प्रयास गरेका हुन् । यो सफल हुन दिने छैन । २०६३ पछि अहिले यस्तो समय आएको छ कि हामीले अलिकति सचेत भएर सद्बुद्धिको प्रयोग गर्न सकेनौँ भने हाम्रो विचार सधैँको लागि समाप्त हुन्छ ।’
थापाले केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको भन्दै त्यो प्रयास सफल हुन नदिने टिप्पणी गरे । उनले सत्तामा आफ्नो वर्चस्व कायम गर्न र व्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाए । उनले संविधान संशोधनमार्फत व्यवस्था परिवर्तन गर्न नपाउने धृष्टता गरिए देशमा आगो बाल्ने चेतावनी दिए ।
उनले भने,‘सायद प्रधानमन्त्रीले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ । केही राजनीतिक दलहरूले आफ्नो वर्चस्वलाई कायम गर्न, आफ्नो व्रम्हलुटलाई सुरक्षित गर्नको निमित्त संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु प्रमुख राजनीतिक दलका नेताहरूलाई तपाईँले यो धिष्टता गरे धने देशमा आगो बल्छ । त्यो आगोको पहिलो शिकार तपाईँहरू हुनुहुन्छ ।’