बाँकेको मानपुर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा प्रहरीका असईको मृत्यु

बुधबार, चैत २७, २०८१

नेपालगन्ज । बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जना जुनियर  प्रहरी अधिकृतको मृत्यु भएको छ ।

नेपालगन्ज-गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका-३ स्थित मानपुरनजिक आज दिउँसो रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर वस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लु. ७८ प. ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा कोहलपुर नगरपालिका–२ का ४५ वर्षीय असई बस्नेत गम्भीर घाइते भएका थिए । बस्नेतलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज अफ साइन्समा पुर्‍याइएको थियो । तर, अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

बस्नेत कार्यालयको कामको सिलसिलामा बाँके आएर बर्दियातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्  । इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी रहेका बस्नेत जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्