पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय

शनिबार, साउन २०, २०८०

काठमाडौं । इमरान खानलाई भ्रष्टाचारको मुद्दामा पाकिस्तानी अदालतले  तीन वर्षको जेल सजाय सुनाइएको छ । 

आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्। उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले  जनाएका छन् ।

अदालतको फैसला लगत्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री    खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले  जनाएका छन् ।

आज अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए । 

अन्तर्राष्ट्रिय समाचार माध्यमका  अनुसार अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

इमरानको पार्टी तेहरिक-ए-इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।

‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् ।

पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो ।

न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्