बाँके कांग्रेसको तेस्रो सम्मेलन चैत ३० गते, विश्वप्रकाश शर्मा आउँदै

मंगलबार, चैत २६, २०८१

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ । नेपालगञ्जको भवानियापुरस्थित सिटी हलमा हुने जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

सम्मेलनमा विशिष्ट अतिथि सहमहामन्त्री किशोर सिंह राठौर, अतिथिहरु केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मा लगायतका नेता गणहरु सहभागी हुने बताइएको छ ।  

सम्मेलनमा बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पार्टी सभापति नारायण प्रसाद गौडेल, सांगठानिक प्रतिवेदन सचिव सुधांशु कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले प्रस्तुत गर्नेछन् । 

यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको थियो । सभापति गौडेलका अनुसार जिल्ला सम्मेलनमा प्रस्तुत हुने उक्त प्रतिवेदनहरु संशोधनसहित पास भएपछि त्यसले आधिकारिकता मान्यता पाउनेछ । 

जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस बाँकेको नीति तथा कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधीन सुशील कोइराला स्मृति भवन लगायतका गहन तथा महत्वपूर्ण विषयहरु समेटिएका छन् । 

त्यस्तै जिल्ला सम्मेलनमा सचिव कोइरालाद्वारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदनमा सदस्यता वितरण, नविकरण, भ्रातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालन लगायतका एजेण्डा समेटिएका छन् । यसैगरी जिल्ला सम्मेलनमा कोषाध्यक्ष बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय(व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ । 

जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन्। तीन उपसमितिहरुले आफूले पाएको जिम्मेवारी अनुसार धमाधम काम गरिरहेको सभापति गौडेलले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्