प्रहरीतर्फ ६ एआईजी पद रिक्त, बढुवा कहिले?

सोमबार, चैत २५, २०८१

काठमाडौं । नेपाल प्रहरीमा दीपक थापा आईजीपी बनेसँगै  हाल ६ जना एआईजीको दरबन्दी खाली भएको छ। प्रहरीमा ६ एआईजी दरबन्दी रिक्त रहेको दुई साता बितिसक्दा पनि बढुवा प्रक्रिया अन्योल नै रहेको छ।
गत चैत ४ गते रातिबाट आईजीपी बसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेत कडायत र जनक भट्टराई अवकाश र थापा आईजीपी बनेपछि एआईजीको रिक्त संख्या ६ पुगेको हो।

नेपाल प्रहरीका एआईजी दरबन्दी संख्या ८ रहेपनि हाल दुई जना मात्रै एआईजी छन् । जसमा सुदिप गिरी राष्ट्रिय प्रहरी प्रतिष्ठान र टेकबहादुर तामाङ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

डीआईजीबाट एआईजी बढुवा नहुदा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र  सीआईबी प्रमुखबिहीन रहेका छन् । त्यहाँ एआईजीको दरबन्दी हुन्छ ।

रिक्त ६ एआईजीका लागि पछिल्लो ब्याचका ३  डीआईजीहरु कडा प्रतिष्पर्धामा छन् । डीआईजी चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, एआईजीको प्रतिष्पर्धामा छन् ।

अहिलेसम्म एआईजी बढुवा हुन नसक्नुमा आगामी भदौ ११ गतेबाट रिक्त हुने आईजीपी बनाउनकै लागि माथिल्लो शक्तिकेन्द्रले आफू अनकूललाई बढुवा गर्न लागेको बुझिएको छ। 

समयले साथ दिएमा सिनियर रहेका खापुङ र शर्मा एआईजी भएको खण्डमा भदौ ११ गतेपछिको २ महिने आईजीपी हुने देखिएको छ भने  आचार्य भने आगामी जेठमा ५६ वर्षे उमेरहदका कारण अवकाश जानेछन् ।उनीहरु कात्तिक २७,२०५२ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। खापुङ र आचार्य २० चैत  २०७९ मा शर्मा गत जेठमा डीआईजी बढुवा भएका थिए।

आगामी भदौ ११ गतेदेखि रिक्त हुने आईजीपी बन्न उनीहरु दुई जना पहिको नम्बरमै बढुवा हुन माथिल्लो शक्तिकेन्द्रमा गुहार लगाइरहेको अवस्था छ। यदि त्यसो भएमा दुई जनामध्ये एक जना आगामी कात्तिक २६ सम्म आईजीपी बन्नेछन् ।

कात्तिकपछिको प्रहरीको नेतृत्व गर्न दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी  र सिद्धिविक्रम शाह , सुशील सिंह राठौर ,उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक पनि एआईजीका लागि प्रतिस्पर्धामा छन् । चैत १८ २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका कार्की ,केसी र अधिकारी २०८१ जेठ ४ गते डीआईजीमा बढुवा भएका हुन् । तरा उनीहरुभन्दा अगाडि ५ पुस २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका शाह,राठौर र चतुर्वेदीलाई बढुवामा छुटाइएको थियो।

कार्की ,केसी र अधिकारी भन्दा शाह, राठौर र चतुर्वेदी एक ब्याच सिनियर हुँदा एसपी र एसएसपी वरीयतामा अगाडि थिए। सिनियर हुँदाहुँदै उनीहरु मंसिर ९, २०८१ मा डीआईजी बढुवा भएका थिए। आगामी कात्तिकमा हुने आईजीपीका लागि यही ०५३ र ०५४ कै टोलीबीच मुख्य प्रतिस्पर्धाकै कारण एआईजी बढुवा हुन ढिलाइ भएको बताइएको छ।

०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका टोली एआईजी बढुवा हुँदै आगामी कात्तिकमा आईजीपी भएको अवस्थामा ०५४ को टोलीपनि आईजीपी बन्न बाटो खुला रहनेछ । ०५३ को टोलीबाट आईजीपी भएको खण्डमा २०८३ भदौ ४ सम्म कमाण्ड सम्हाल्ने छन् ।

आफू निकटलाई कात्तिकमा बन्ने आईजीपी नियुक्त गर्नलाई एआईजी बढुवा हुन नसकेको प्रहरी श्रोत बताउँछ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्