नेपालगञ्जमा विपीको शालिकमा कालो झण्डा बेरेपछि कांग्रेसले गर्‍यो निन्दा, दोषीलाई कारबाहीको माग

आइतबार, चैत २४, २०८१

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले राजावादीहरुको अराजक समूहले नेपालगञ्जस्थित विपी चोकमामा रहेको जननायक विपी कोइरालाको शालिकमा कालो कपडाले ढाक्ने र कालो दल्ने कार्यको घोर भत्सर्ना तथा निन्दा गरेको छ । 

आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा राजावादीहरुको समूहले शनिवार साँझ वीपी चोकमा राँके जुलुस प्रदर्शन गर्ने क्रममा त्यहाँ रहेको महामानव वीपी कोइरालाको शालिकमा कालो कपडाले ढाक्ने र कालो दल्ने काम गरेको भन्दै कांग्रेसले घटनाको निन्दा गरेको हो । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ(‘आन्दोलनका नाममा देखाइएको यस्तो अराजक र उद्दण्डताको जति निन्दा गरे पनि कम हुन्छ, यस्तो हर्कतको हामी कडा शब्दमा निन्दा गर्दछौं ।’

प्रहरी प्रशासनकै बाक्लो उपस्थितिबीच यस खाले अशोभनीय र निन्दनीय घटना हुनुलाई पार्टीले गम्भीररुपमा लिएको छ भन्दै प्रेस विज्ञप्तिमा आन्दोलनका नाममा यस्तो अराजकता मच्चाउने समूहलाई तत्काल पक्राउ गरी कारवाही गर्न नेपाली कांग्रेस बाँकेले जोडदार माग गरेको छ । 

‘लोकतन्त्रमा आफ्ना विचार र भावना तथा अभिव्यक्ति राख्ने तथा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई भएपनि अराजकता र उच्छृंखलता सह्य हुन सक्दैन,’ प्रेस विज्ञप्तिमा भनिएको छ(‘लोकतन्त्रको विकल्प ‘उन्नत लोकतन्त्र’ नै हो भन्ने मान्यतामा अडिग सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको शाकिकप्रति नै गिद्धे नजर लगाउने र हतास मानसिकताको उपज स्वरुप गरिएको उक्त निन्दनिय र उपद्रो कार्य गर्ने विरुद्ध कारवाही लागि तदारुकता नदेखाइए नेपाली कांग्रेस बाँके कडा ढंगले प्रस्तुत हुन बाध्य हुनेछ ।’

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्