रातभर जाग्राम बसेर पहिलो नम्बरमा उम्मेदवारी दर्ता !

शुक्रबार, साउन १९, २०८०

नेपालगन्ज । भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । दुई वटा समूहले आज प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । 

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह र समावेशी समूहले उम्मेदवारी दर्ता गराएका छन् । यी दुबै समूहले बिहीवार आ-आफ्नो प्यानलका उम्मेदवारहरुको घोषणा गरेका थिए ।

ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह र टंकबहादुर धामीको नेतृत्वमा साझा समावेशी प्यानल चुनावी मैदानमा होमिएका छन् । 

अध्यक्षका उम्मेदवार रौनियार र उनको टिमले सुरुमै उम्मेदवारी दर्ता गराएकाले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको नामावली अब मतपत्रमा पहिलो नम्बरमा हुनेछ । 

पहिला दर्ता गर्नेलाई पहिलो रोलक्रममा राख्ने निर्वाचन समितिले निर्णय गरेपछि  साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरु रातभर नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यालय अगाडि गेटमा जाग्राम बसेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्