सीआईबीले पायो १ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी

शुक्रबार, साउन १९, २०८०

काठमाडौं । सीआईबीले  एक क्विन्टल  सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी पाएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई  सुन प्रकरणको अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । 

गत साउन ३ गते नियन्त्रणमा लिइएको करिब एक क्विन्टल  सुन तस्करी प्रकरणलाई जरैदेखि अनुसन्धान गर्नका लागि प्रधानमन्त्री प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईलाई दिएका हुन् । यो प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी रहेको छ । 

यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । जसमा भन्सार अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परेका हुन् । 

यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न सीआईबीबाट अनुसन्धान गर्न प्रचण्डले निर्देशन दिएका हुन् । विभाग आफैँ प्रधानमन्त्री मातहतको निकाय हो ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले प्रधानमन्त्रीबाट अनुसन्धानका लागि निर्देशन पाइसकेको भन्दै अनुसन्धान विभागबाट फाइल आउनासाथ अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने बताइन् । 

उनले भनिन्, ‘हामीलाई प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभयो राजश्व अनुसन्धानबाट फाइल आउन बित्तिकै अनुसन्धान शुरु हुन्छ ।’

चौतर्फी राजस्व अनुसन्धान विभागले मात्रै सुन प्रकरणको अनुसन्धान गरेको विरोध हुँदै गर्दा प्रधानमन्त्रीले सीआइबीलाई यसको अनुसन्धान गर्ने जिम्मेवारी दिएको बताइएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्