बाँकेको बाल सुधार गृहमा आगजनी, अवस्था तनावग्रस्त

शनिबार, चैत २, २०८१

नेपालगन्ज । बाँकेको बाल सुधार गृह अहिले तनावग्रस्त बनेको छ । बालबन्दीबीच भएको झडपलपछि अहिले बाल सुधार गृहमा बालबन्दीले आगजनी गरेका छन् ।

जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दीले बाल सुधार गृह तोडफोड गरेका छन् भने सुरक्षा फौजमाथि भित्रबाट ढुङ्गा हानिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले माहोल शान्त बनाउन सकिरहेका छैनन् ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले वार्ताका लागि अपिल गरिरहेका छन् । तर, बालबन्दीहरुले एसपी कार्कीले आग्रहपछि झनै उग्र बन्दै ढुङ्गा हानिरहेका छन् ।

सुरक्षा फौज भित्र पस्न नसकेको अवस्थामा बाल सुधार गृह भित्र के भइरहेको छ भन्ने बारेमा एकिन जानकारी आइसकेको छैन भने बाँकेका सिडिओ धर्मराज जोशी र सशस्त्र प्रहरीका एसपी शोभाकान्त खनाल पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

गएरातिदेखि सुरु भएको झडपमा घाइते भएका ६ जनाको भेरी अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ । बाल सुधार गृह बाहिर नेपाल र प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ छन् ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्