संविधानले तोकेको अधिकार महिलाले नपाउनु नै दु:खद : सुवेदी

मंगलबार, फागुन २७, २०८१

नेपालगञ्ज । संविधानसभा उपाध्यक्ष पुर्णा कुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यहारिक कार्यान्वयनमा जटिलता रहेको बताएकी छिन् ।

क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्लब अन्तर्गत आज नेपालगञ्जमा सम्पन्न गरेको कार्यक्रममा मुख्य बक्ताका रुपमा सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद् भएको बताइन् ।

विक्रम सम्वत् २०१५ सालमा जन्मेकी  सुवेदी विक्रम सम्वत २०३४ सालदेखि हालसम्म राजनीतिमा सक्रिय छिन् । नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव आज कार्यक्रममा सुनाएकी छिन् । युद्धको बेला गोली कानको छेउँबाटै जादा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण सुनाउँदा उनी भाबुक बनिन् । पारिवारिक तथा सामाजिक उल्झनहरुलाई छिचोल्दै पार्टीका विभिन्न मुख्य पदहरु उनले सम्हाल्दै निरन्तर अगाडि बढिरहेकी छिन् ।

पत्रकार तथा राजनीतिक महिलाहरुबीच उनले संघर्षका कथा सुनाइन् भने सहभागीहरुले गरेका प्रश्नमा जवाफ समेत दिइन् । वेलायत, भियतनाम, जर्मनी, थाइल्याण्ड ,चीन ,स्पेन, फ्रान्स र भारतका विभिन्न स्थानमा भ्रमण गरिसकेकी सुवेदीले राजनीति मात्र नभई सबै स्थानमा महिला सहभागिता निर्णायक हुुनुपर्ने धारणा राखिन् । उनी जस्तै उदाहरणीय व्यक्तिबाट समाजमा उत्प्रेरणा प्रदान गर्नु, नेतृत्व विकास गर्नु तथा समसामयिक समस्याका बिषयबस्तुमाथि पैरवी गर्नु कार्यक्रमको उद्देश्य रहेको क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कुनै पनि व्यक्तिको संघर्षको कथाले समाजमा उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवहारिक जीवनमा सफलता ल्याउने बताए ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले यस्ता कार्यक्रम निरन्तर हुन आवश्यक रहेको बताइन् । कार्यक्रमको सहजीकरण सचिव निशु जोशीले गरेकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्