बौला खोला...

शनिबार, फागुन २४, २०८१

जवानीको तातो - तातो  प्यासले ।
उर्लिदों भेलको मातले ॥
हिमाल बोक्ने खोलाहरू बौलाए ।
चिप्ले किराहरू खोज्दै सल्बलाए ।।

ए  ! सान्दाजु ,
खोलाहरू हदभन्दा बढि बौलाए ।
पृथ्वी लोकका चिप्ले किराहरू,
समुन्द्रका होयलहरू,
बौला खोलाहरूले बगाए ।।

खोलाहरू क्षितिज काटेर बौलाए ।
सगरमाथा भत्काए,
तिलिचोको पहाड तालमा डुबाए ।
पशुपति, स्वम्भू र कृष्ण मन्दिरको बाँसुरी दूषित बनाए ।।

हेर  त ! सान्दाजु ,
ढलबाट बग्ने खोलाहरू
सहि  नसक्नु बौलाए !
वसन्त ऋतुको आबरणमा, 
पिङ्गला र क्लियोपेट्राले रंगमञ्च बनाए ।।

आधुनिक बौला खोला देखेर,  
प्रयाग र देवघाट रोए ।
बाग्मती र रापती छट्पट्टिए ।। 
मेची र कालीले अनुहार छोपे ।  
नाईग्रा फल्स र मानसरोवर गुफा भित्र पसे ।।

युवराज डिसी 

केन्द्रीय सदस्य,नेपाली लेखक संघ 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्