सातौं प्रधानमन्त्री कप एनभिए भलिबलमा पुलिस र आर्मीको विजयी सुरुवात

शनिबार, असार २३, २०८०

काठमाडौं । आजदेखि सुरु भएको सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले  पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित  राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुरुषतर्फ आर्मीले शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछापलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

आर्मीले शैलुङ्गमाथि २८–८, २५–१३, २५–१७ को नतिजा निकालेको हो ।

पुलिसले पुरुषतर्फको अर्को खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा हरायो । पुलिसले गण्डकीमाथि २५–२१, २५–१६, १३–२५, २४–२६, १५–१० को जित निकालेको हो ।

महिलातर्फ पनि नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१०, २५–११ को सहज नतिजा निकालेको थियो । असार ३० गतेसम्म चल्ने लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

लिगमा पुरुषतर्फ साविक विजेता आर्मी, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहेको छ।

महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले भाग लिएका छन् ।

लिगको च्याम्पियन टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने पुरुष क्लब च्याम्पियनसिपमा भाग लिन पाउनेछ । यस्तै विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउने सङ्घले जनाएको छ ।

पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्