सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । महिला उद्यमी संघ नेपाल बाँकेले "नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१" आयोजना गर्दैछ । फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा प्रदर्शनी आयोजना गरिनेछ । संघले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रदर्शनी तयारीबारे जानकारी गराएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा हुन लागेको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्व रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउने महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा रहने करीब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफ्नो उत्पादनको बिक्री तथा प्रचारप्रसार गर्नेछन् ।
नवौं संस्करणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा बस्नेतले बताइन् । प्रदर्शनीको दौरान फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिनेछ । जहाँ महिला उद्यमीको सम्भावना र चुनौतिका विषय सरोकारवाला र विज्ञसँग संवाद गरिनेछ । फागुन ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम गरिने संघकी प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रेवती सिंहले जानकारी दिइन्।
प्रदर्शनीस्थलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाङ, स्थानीय उत्पादन बेसार, अचार, मह, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डा लगायतका बस्तुहरु रहनेछन् ।
प्रदर्शनीको अर्को महत्वपुर्ण आकर्षणको रुपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरुलाई प्रवर्द्धन गर्नको लागि स्टलहरु राखिने भएको छ । जहाँ नेपालगन्जको विभिन्न समुदायका महिलाहरुले बनाएका परिकारहरु बिक्रीको लागि राखिनेछ । प्रदर्शनी सम्पन्न गर्न अनुमानित १५ लाख रुपैयाँ बजेट खर्च हुने बताइएको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।