सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
रेडियो भन्नासाथ मलाई २०५६-५७ सालतिरको अलि अलि सम्झना छ । मेरो घरमा रेडियो नेपाल मात्र बज्ने एउटा रडियो सेट थियो । मैले त्यति बेला धेरै सुनेको आवाजहरुमा गोपाल बस्नेत, प्रविण गिरी, हरिशरण लामिछाने, कोमल वली, अनिता बिन्दु लगायतका आवाज थिए । त्यसपछि २०५८ सालमा दाङमा रेडियो स्वर्गद्वारी एफएम खुल्यो । त्यसपछि अझ बढी रेडियो सुन्ने बानी भयो । त्यही बेलादेखि नै रेडियोप्रति अलि अलि चासो थियो तर रेडियोकर्मी नै बन्छु भन्ने थिएन ।
रेडियोको इतिहासको त के कुरा भयो र, रेडियोकर्मी भएर काम गर्न थालेपछि बल्ल थाहा भयो रेडियोको इतिहास । रेडियो १९औं शताब्दीको अन्तमा सुरु भयो, जब सन् १८९५ मा गुग्लिएल्मो मार्कोनीले पहिलो पटक रेडियो तरंगहरू प्रयोग गरेर सन्देश पठाए । लगभग दश वर्ष पछि, सन् १९०५–१९०६ को आसपास, संगीत र कुराकानीको रेडियो प्रसारणको प्रयोग सुरु भएको इतिहास छ । रेडियो धेरै मानिसहरूमा पुग्न सफल भयो ।
सन् १९२० को प्रारम्भमा रेडियो जनताको लागि उपलब्ध भयो, र लगभग ३० वर्षपछि रेडियो स्टेशनहरू निर्माण हुन थाले । सन् १९५० को दशकसम्म, रेडियो र प्रसारण प्रविधि संसारभर पुगिसकेको थियो । विश्वका अन्य मुलुकमा झै नेपालमा पनि आम सञ्चारको एक सशक्त माध्यमको रुपमा रेडियोको विकास भएसँगै पत्रकारिता पत्रिकामा मात्रै सीमित भएन । सन् १९२० मा लण्डनमा विश्वमै पहिलो पटक नियमित रेडियो प्रशारण सेवाका रुपमा बीबीसीले आफ्नो सेवा सुरु गर्यो र बिस्तारै बिस्तारै विश्वभर रेडियो स्थापना हुन थाले र रेडियो पत्रकारिताको पनि विकास भयो ।
नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थालेता पनि २००४ सालपछि मात्रै पद्म शमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए। २००७ सालको जनक्रान्तिको बेला भारतको फर्बेसगञ्जबाट रेडियो ट्रान्समिटर झिकाई भोजपुर जिल्ला र पछि विराटनगर जुटमिलबाट क्रान्तिलाई सफल बनाउन रेडियो प्रशारण सुरु गरिएको थियो । जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौंको सिंहदरबारमा ल्याई रेडियो नेपालको रुपमा २००७ साल चैत २० गतेदेखि प्रशारण सुरु गरिएको हो । अहिले देशभर फैलिएका एफएम रेडियोको सुरुवात भने २०५२ मा रेडियो नेपालको एफएम ब्यान्डबाट भएको हो । त्यसपछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा २०५४ साल जेठ २ गतेबाट रेडियो सगरमाथाले प्रशारण सुरु गर्यो ।
विश्वभरका रेडियोकर्मीसंगै नेपालका करीब ८ हजार भन्दा बढी रेडियोकर्मीले फेब्रुअरी १३ तारिख अर्थात् फागुन १ लाई आफ्नो मुख्य चाडको रुपमा विश्व रेडियो दिवसको रुपमा मनाउँछन् । पछिल्लो समय रेडियोको प्रसिद्धि घट्दै गएको र रेडियोको बजार पनि कमजोर भएपछि रेडियोकर्मी चिन्तित हुन थालेका छन् । हिजोको दिनमा भएको रेडियोकर्मीप्रतिको आम नागरिकको सम्मान र रेडियोप्रतिको क्रेज आज घट्दो छ । सामाजिक संजालको विकासक्रमले रेडियोको महत्व अलिक घटेको हो कि भन्ने आभाष हुन थालेको छ । अहिले विभिन्न सामाजिक संजालको विकास र इन्टरनेटको सहज पहुँचले गर्दा पनि रेडियो ओझेलमा पर्दै गइरहेको अवस्था छ । तर, अझै पनि सर्वसाधारणले विश्वासिलो सूचना र समाचारको माध्यम रेडियोलाई नै मान्ने गरेका छन् ।
विगतमा सूचना प्राप्त गर्न रेडियो नेपाल, बीबीसी, अल इन्डिया रेडियो सबैका सामु लोकप्रिय थिए तर पछिल्लो समय एफएम रेडियोको विकास र विस्तार भएपछि भने सर्वसाधारणमा सूचनाको पहुँच ह्वात्तै बढ्यो । त्यसपछि रेडियो नेपाल भन्दा एफएम रेडियो सर्वसाधारणमा सहज सूचनाको माध्यम बन्न पुग्यो । पछिल्ला समयमा भने मोबाइलमै विश्वका सबै सूचना आउने भएकाले रेडियोका स्रोता भने घट्दो क्रममा नै छन् । अनलाइन माध्यम अहिले प्रभावकारी बन्दै आएको छ । रेडियोको आर्थिक अवस्था राम्रो नभएपछि दक्ष जनशक्ति यो क्षेत्रबाट अन्य क्षेत्रमा पलायन हुन थालेका छन् । अनलाइन मिडिया जस्ता नयाँ मिडियाको प्रसिद्धि बढ्न थालेपछि विज्ञापनदाताले पनि रेडियोमा दिने विज्ञापन कटौती गर्न थालेका छन् ।
पहिला पहिला रेडियो सुन्न टाढासम्म रहेका रेडियो भएका घरमा पुगेर धेरै मानिस जम्मा भएर सुन्ने गरिन्थ्यो भने अहिले हातमा भएको मोबाइलमा इयरफोन लगाएर एक्लै रेडियो सुन्ने बानीको विकास भएको छ । बिगत केही बर्षदेखि नेपालमा रेडियोको महत्व घट्नुको प्रमुख कारण रेडियो नै हुन् । समय अनुसार रेडियोले पस्किने बिषय बस्तु कमजोर हुनु पनि अर्को कारण हो, समुदायका लागि भनेर खोलिएका सामुदायिक रेडियोले समुदाय लक्षित विषयबस्तु पस्किन नसक्नु र प्रस्तोताहरुले पनि सम्बन्धित बिषयमा गहन अध्ययन नगरेर कार्यक्रम पस्किनुले पनि रेडियो सुन्ने स्रोता घट्दै गएका छन् । यो कुरा सामुदायिक रेडियोमा मात्र लागू हुँदैन प्राइभेट रेडियोमा पनि यस्तै हालत छ ।
रेडियोले आफूलाई बलियो बनाइराख्न र आफ्नो साख बचाई राख्न अनुभवी र दिग्गज व्यक्तिहरुलाई पनि रेडियोमा स्थान दिन जरुरी छ किनकी नवआगन्तुक व्यक्तिले पनि उनीहरुबाट केही न केही सिकुन्, यसरी भन्दै गर्दा रेडियोकर्मीले मेहनत नगर्नुको अर्को मूल कारण पारिश्रमिक पनि हो । आफ्नो समय, उमेर सबै रेडियोकै लागि भनेर लगानी गरिरहेका रेडियोकर्मीले आफ्नो सामान्य परिवार चलाउन नसक्ने अवस्थाको न्युन पारिश्रमिकले गर्दा पनि सोचे अनुसार आफ्ना प्रस्तुति दिन नसकेको हुन सक्छ । त्यसको लागि रेडियोले रेडियोकै लागि जबसम्म खर्च गर्न सक्दैनन्, तबसम्म रेडियो र रेडियोकर्मीका समस्या जहाँको त्यहीँ हुनेछन् ।
६ सय भन्दा बढी नियमित प्रसारणमा रहेका देशभरिका रेडियोको समस्या लगभग उस्तै छ भन्दा फरक नपर्ला । पारिश्रमिककै कारण कतिपय रेडियोका दक्ष जनशक्तिले रेडियोबाट बिदाई भएका थुप्रै उदाहरणहरु छन् चाहे त्यो राजधानीकै चर्चित रेडियो होस् चाहे राजधानी बाहिरका चलेका भनिएका रेडियो होस्, तसर्थ रेडियोकर्मीले आफ्नो बिषयबस्तु र प्रस्तुतिकरणमा ध्यान दिन जरुरी छ भने रेडियोले पनि आफ्ना कर्मचारी र सचेतनामूलक कार्यक्रमहरुमा लगानी गर्न ध्यान दिनुपर्छ । 'रेडियोकर्मी बचौं, रेडियोलाई बचाऔ' विश्व रेडियो दिवसको शुभकामना !
लेखक मेघराज बस्नेत हुन् । उनी हाल नेपालगन्जस्थित रेडियो बागेश्वरीमा कार्यरत छन् ।